नवलपरासीको रामग्राम नगरपालिका–५ स्थित घण्टाघर चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार भदौ २० गते राति बाइपासबाट बुद्धचोकतर्फ जाँदै गरेको लु ३३ प ५४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा रामग्राम–४ निवासी ३५ वर्षीय चालक अशोक हरिजन र पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर निवासी ३५ वर्षीय रमेश हरिजन घाइते भएका थिए। दुवै जनालाई जिल्ला अस्पताल, परासीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको थियो।
उपचारका क्रममा अशोकको राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। रमेशको सोही अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।








Be First to Comment