परासी । १५०१औँ मोहम्मद जन्मोत्सव मिलादुन्नबीको अवसरमा उलमा फाउन्डेसन नेपालको आयोजनामा परासीमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम जामिया फैजाने अहलेबैतमा आयोजना गरिएको हो। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक गुरु, समाजसेवी तथा स्थानीय अगुवाहरू सहभागी भएका थिए।
कार्यक्रमको अध्यक्षता उलमा फाउन्डेसन नेपालका केन्द्रीय सदस्य मौलाना मोहर्रम अली साहब निजामीले गर्नुभएको थियो। प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्ता र प्रदेशसभा सदस्य बैजनाथ जायसवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, उलमा फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मजहरी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा धार्मिक विद्वान् तथा उलमाहरूको पनि सहभागिता रहेको थियो।

वक्ताहरूले पैगम्बर हजरत मोहम्मद मुस्तफाको जीवन र शिक्षाबारे चर्चा गरेका थिए। उहाँले दिनुभएको शान्ति, प्रेम, मानवता र भाइचाराको सन्देश अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको उनीहरूले बताए।
नेपाल बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले आपसी सम्मान र सद्भाव कायम राख्नुपर्नेमा वक्ताहरूले जोड दिए।
सहभागी अतिथिहरूले मिलादुन्नबीको अवसरमा शुभकामना व्यक्त गरेको उलमा फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मजहरीले जानकारी दिनुभयो।
कार्यक्रमले धार्मिक तथा सामाजिक क्षेत्रमा आपसी सम्बन्ध र सद्भाव बलियो बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।








Be First to Comment