Press "Enter" to skip to content

रामग्राममा क्षमता विकास तालिम सुरु, निष्पक्ष समाचार सम्प्रेषणमा नगर प्रमुख यादवको जोड | The Horizon Times

परासी । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले चलचित्र हिट भएपछि मात्र त्यसको चर्चा गरेजस्तै स्थानीय सरकारले गरेका राम्रा कामलाई पनि नागरिकसमक्ष पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ।


रामग्राम नगरपालिकामा आजदेखि सुरु भएको पत्रकारिता क्षमता विकास तालिमको उद्घाटन गर्दै उहाँले नगरपालिकाले गरेका विकास निर्माणका काम, उपलब्धि, कमजोरी तथा सुधार गर्नुपर्ने पक्षलाई निष्पक्ष रूपमा समाचारमार्फत उठाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो।


उहाँले सत्यतथ्यमा आधारित, रचनात्मक र सक्रिय पत्रकारिताले स्थानीय सरकारलाई थप जिम्मेवार बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।


यसैगरी, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले स्थानीय सरकारले एक्लै सबै काम गर्न नसक्ने भन्दै विकासका लक्ष्य हासिल गर्न विभिन्न संघसंस्थाको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।


सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपरासीका कार्यवाहक अध्यक्ष विकास अधिकारी, सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।


सामुदायिक रेडियो परासीको आयोजना तथा रामग्राम नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको तालिम तीन दिनसम्म चल्नेछ। तालिममा लुम्बिनी दैनिकका सम्पादक शेरबहादुर केसीले सहजीकरण गर्नुहुनेछ। तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत १५ जना पत्रकार सहभागी छन्।


तालिममा फिचर लेखन, विकास पत्रकारिता तथा पत्रकारहरूको लेखन क्षमता अभिवृद्धिसम्बन्धी विषयमा अभ्यास गराइने प्रशिक्षक केसीले बताउनुभएको छ।

Select your reaction for the News
+1
0
+1
1
+1
0
+1
0
+1
0

Be First to Comment

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *